Latest From our Blog

कुरियर छाडेर बजार छिरे, सेयरले घरगाडी र शानको जिन्दगी दियो !

धितोपत्र बजारले धेरैलाई राम्रा अवसरहरु प्रदान गरेको छ । २ दशकदेखिको  नेपाली सेयर बजारमा भएको सक्रियताकै कारण लोभलाग्दो उचाइँ पाएका एक भद्र र शालीन व्यक्तित्वका धनी सेयर लगानीकर्ता हुन् तुलसीराम ढकाल । 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष समेत रहेका उनी चिलिमे हाइड्रोपावर र मध्यभोटेकोशी हाइड्रोपावरका निर्देशक समेत छन् । 

सफल पथ सहकारीको अध्यक्ष समेत रहेका ढकालले विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्धता जनाउँदै आएका छन् । मोरङ पथरीबाट काठमाण्डौ छिरेका उनी हाल काठमाण्डौ–५ टोखाका बासिन्दा हुन् । 

 

कुरियर व्यवसायमा होमिएका उनी केशव ज्ञवालीको हौसलाले २० वर्षअघि सेयर बजारमा प्रवेश गरेका थिए । २०५६ सालदेखि एकैपटक दोश्रो बजारमा हिमालयन बैंकको १० कित्ता सेयर १ हजार ५५ रुपैयाँमा खरिद गर्दै छिरे । 

ब्रोकर नम्बर २५ श्वेता सेक्युरिटीजकी सूचिता खनालकै साथ र हौसलाले उनलाई धितोपत्र बजारमा सफल बनायो । उनै सूचिता खनाल र कुमारकेशर विष्टलाई ‘गडफादर’ मान्ने ढकाल प्राथमिक बजारमा चाहिँ लुम्बिनी फाइनान्सको १० कित्ता सेयर हात पार्दै छिरेका थिए । 


मध्यम वर्गीय कृषकका छोरा रहेका उनी भन्छन्–‘आज म जुन स्थानमा छु, पूँजीबजारले दिएको हो, जुन लेभलमा छु त्यो पूँजी बजारले छु । कुनै शिक्षा र तालिमबिना सूचिता खनालकै गाइड पाएकोले अहिले यो स्थान पाएको छु।’

सेयर बजारमा २ दशकको यात्रामा पहिले र अहिले सेयर कारोबारमा आकाश–पातालको  फरक रहेको उल्लेख गर्दै सहजता पनि भएको उनको भोगाइ छ । 

बुझेर तथा विस्तृत अध्ययन गरी लगानी गरे सेयर बजारमा जहिल्यै कमाउन सकिने उनले तर्क अघि सार्दै भने–‘मैले सुरुमा किनेको हिमालयन बैंक किनेपछि दैनिक बढ्दै गयो, यसले मलाई अझ हौसला मिल्यो । लगानी गर्दै, सिक्दै लगानी गर्दै गरे, यो क्रम चलिरहयो।’

 

दुई दशकमा ३ वटा बूलको साक्षी बनेका ढकाल  सर्टटर्म कारोबारी हुन् । मार्केट ट्रेण्ड र समसामयिक वस्तुस्थितिप्रति सजग रहँदै उनले लगानी रणनीति बनाउने गरेको बताए । 

नेप्से इण्डेक्स ३ सय हाराहारी हुँदा धितोपत्र बजारमा पाइला चालेका उनले बजारको इन्ट्री र एक्जिट पोइन्ट ठ्याक्कै कसैले पनि भन्न नसक्ने दाबी गरे। 

आजभोलि बजारमा नवप्रवेशीको लागि स्वर्णिम अवसर भएको विचार राखे। 

११ सय नै लगभग बजारको तल्लो लेभल भएको जिकिर गर्दै मार्केटमा पैसा कमाउने हो भने लोभ गर्न नहुने तर्क अघि सार्दै भने–‘निश्चित नाफा आएलगत्तै बेच्न सक्नुपर्छ, बजारमा लोभी नै फस्ने हुन् ।’ 

 

उनले आफूले बजारबाट कसरी कमाएँ भन्ने रोचक प्रसंग समेत सुनाए । ‘म एउटा रोचक प्रसङ्ग भनूँ तर यो कुरा कसैले पत्याउदैन । एनएचपीसीको सेयर अक्सनमा २० हजार कित्ता २ सय १८ मा किनेर ३ महिनाभित्र ६ सय हाराहारीमा बेचेँ ।’ 

बिदेशी पूँजीबजारको तुलनामा नेपालको पूँजीबजार परिपक्व नभएको विचार राख्दै बुझेर लगानी गर्ने लगानीकर्ता कम भएकाले नियामकले ज्ञान दिलाउन जोड दिनुपर्ने उनको बुझाइ छ । 

पूँजीबजारका अवसरलाई नेपाल सरकारले समेत विशेष प्राथमिकता साथ ध्यान दिन जरूरी रहेको उनले बताए । नियामक, ब्रोकर र लगानीकर्ताहरुबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको र यी तीन पक्षको समन्वयमा मात्र बजारको विकास हुने प्रष्ट्याए । 

 

आफ्नो जीवनमा कहिल्यै कल्पना समेत नगरेका ढकालले आजको उनको उचाई, घरगाडी, छोराछोरीलाई उचित शिक्षादीक्षा र सक्षम परिवार पूँजी बजारबाटै पाएकोमा खुशी व्यक्त गरे । 

हाथ्वे इन्भेस्टमेन्ट, विभिन्न हाइड्रोपावर र बैंक तथा वितीय संस्थामा समेत बृहत लगानी रहेको उल्लेख गर्दै कसैले सेयर बजारबाट कमाएको देखेर नै चाहिँ सेयर बजारमा छिर्न नहुने उनले सुनाए । 

मिडियामा आएका सूचनालाई केलाउने, वित्तीय विवरण गहिरिएर अध्ययन गर्ने, कम्पनीका संचालक समिति र कम्पनीको भविष्यका बारे लगायतका विषयमा जानकार भएर कम्पनी छनौट गर्नुपर्ने उनले सुझाए ।

 

नवप्रवेशी सेयर लगानीकर्ताहरुलाई प्राथमिक बजारबाटै छिर्नुपर्ने र कम्पनीहरुका विवरण अध्ययन गर्न उनले जोड दिए । कम्पनीहरुका एजीएममा उपस्थिति जनाएर कुराहरु सुन्ने, ब्रोकर अफिसमा नियमित गएर बुझ्ने प्रयास गर्नुपर्ने र उनीहरुबाट सल्लाह लिनुपर्ने उनको सुझाव छ।

सही ब्रोकर छानेर ब्रोकरकै गाइडलाइन्समा सेयर खरिदबिक्री गरे पछाडि फर्केर हेर्न नपर्ने उनले ठोकुवाकासाथ भने । अग्रज लगानीकर्तासँग बुझेर आफ्नो निर्णय गर्दै सेयर खरिदबिक्री गर्न जरुरी रहेको उनले सुनाए । यसरी निचोड निकालेर लगानी गर्दा गरिएको लगानी फेल नखाने उनले ठोकुवाकासाथ भने । 

 

पोर्टफोलियो व्यवस्थापनका लागि ८–१० वटा विभिन्न सेक्टरका कम्पनी छनौट गरेर पूँजीगत लाभ वा लाभांशको उद्देश्य किटान गरेर लगानी सम्बन्धी निर्णय गर्नुपर्नेमा जोड दिंदै ढकालले अवस्था हेरेर अल्पकालीन वा दीर्घकालीन लगानी गर्दै रिटर्न निर्धारण र लाभांशमा आधारित भएर लगानी गर्नुपर्ने बताए । 

पूँजीबजारको मुख्य केन्द्रविन्दू नै ब्रोकर भएको ठहर गर्दै उनले ब्रोकरसँग एकपटक राय लिएर लगानीको निचोड निकाल्न लगानीकर्तालाई आग्रह गरे । आफ्नो मापन र क्षमता प्रष्ट हुनुपर्छ, हल्लाको भरमा नबहकिकन सेयर बजाररूपी समूद्रमा छलाङ मार्ने हो भने गहिराईमा पुगेर मोती फेला पार्न सकिन्छ । प्रतिकात्मक रुपमा उनले भने–‘बजार घटबढले नै लगानीको मुनाफाका लागि अवसर  सिर्जना हुन्छ ।’

 

अहिलेको अवस्था लिक्वीडिटी क्रन्च भएकाले लगानीकर्ताहरु प्यानिक हुनु स्वभाविक रहेको उल्लेख गर्दै उनले भने–‘तर म कहिल्यै हरेश खादिँन । मेरो यही विशेष बानीले मलाई यहाँसम्म डोहोर्याएको होला । र, यो  नै मेरो सफलताको राज हो ।’

पोर्टफोलियो व्यवस्थापन गर्दा राम्रा कम्पनी, जसले बैंकको ब्याज तिर्नभन्दा बढी सपोर्ट गर्ने किसिमका सेयर खरिद गरेमा ब्याजको त्रास नहुने र जस्तोसुकै आँधीबेरीले पनि नउडाउने उनको ठम्याइ छ । 

 

अन्धाधुन्ध ऋण लिनु घातक हुने तर्क अघि सार्दै उनले कूल पूँजीको ५० प्रतिशत ऋन लिएर सेयरमा  लगानी गर्दासम्म कुनै जोखिम नहुने सुनाए । ‘म आजसम्म कुनै बैंकसँग डिफल्ट छैन । ऋन व्यवस्थापन गर्न जान्नुपर्छ, सेयरबाटै मनग्ये कमाई हुन्छ।’ उनले भने । ७० प्रतिशत दीर्घकालीन र ३० प्रतिशत पूँजी अल्पकालीन कारोबारमा छुट्याएका ढकालले कारोबारी हुँदा अधिक जोखिम हुने, तर लाभ, मार्केट ट्रेण्ड, शीघ्र निर्णय र चौतर्फी चासो तथा अध्ययनले सफल भइने दाबी गरे । 

‘पूँजीबजार मेरो उद्योग हो, म आजीवन सेयर बजारमै रमाउने छु ।’ उनी भन्छन्–‘मैले नेप्सेलाई पूँजीगत लाभकर मात्रै वार्षिक १८–१९ लाखसम्म तिरेको सम्झना छ, सेयर बजारबाट मैले नि पाएको छु र राज्यलाई पनि दिएको छु ।’

 

सरकारले कुनै पनि कर ‘अन्तिम कर’ भनेर घोषणा गर्नै नमिल्ने तर्क अघि सार्दै हालको पूँजीगत लाभकरको अन्यौलता रहेकोमा यो नै अन्तिम कर भएको लगानीकर्ताहरुले बुझ्न जरुरी रहेको दाबी गरे ।

हाल सेयर बजारको गिरावटमा ब्याजदर र तरलता नै मूल कारण भएको जिकिर गर्दै ठूला लगानीकर्ताहरूमा प्यानसम्बन्धीको बुझाइको कमीले हच्किएका र उनीहरूको सम्पत्तिको पारदर्शितामा संशय उत्पन्न भएर नै बजार गिरावट भएको हुनसक्ने उनले अनुमान गरे ।